भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

पर्यटक तान्दै ढुङ्गे बगैंचा 

अर्घाखाँची  । अर्घाखाँची जिल्लाको चट्टानले ढाकिएको जालकाँडा लेक यत्तिखेर पर्यटकहरुको आकर्षक गन्तव्य स्थल बनिरहेको छ । 
सदरमुकाम सन्धिखर्कबाट उत्तरतर्फ करिब १० किलोमिटर यात्रा गरेपछि अग्लो पहाडी थुक्कोमा पुगिन्छ । थुम्को भने ढुंगाको जंगलले भरिएको छ ।
फलामजस्तै काला ढुंगाको चट्टानले ढाकिएको जालकाँडा लेक ढुंगे जंगल अहिले देशी–विदेशी पर्यटक आकर्षित गर्ने ‘ढुंगे बगैँचा’ अर्थात् ‘रक गार्डेन’ को रूपमा विकास हुँदै गएको छ ।
सन्धिखर्क नगरपालिका–११ स्थित जालकाँडा अहिले रक गार्डेन नामले चिनिन थालेको छ । 

पहाडी भूमिमा अनेक आकृतिका काला ढुंगा फलामका मूर्ति बिच्छाएजस्तै देखिन्छन् । काला फलामे ढुंगाको संरक्षण गर्दै सन्धिखर्क नगरपालिका र वडा नम्वर ११ ले रक गार्डेन बनाएर पर्यटकीय स्थलको रूपमा विकास गर्दै आएको छ ।
चिसो वातावरण र छिटोछिटो परिवर्तन हुने मौसममा देखिने ढुंगाको बगैंचामा जाने मासिनसहरू आनन्दित हुने गरेका छन् । 
कलात्मक रूपमा मानिसहरूले आफै सजाएर र योजनाअनुसार बनाएर राखेको जस्तो देखिने ती चट्टानले जोकोहिको मन प्रफुल्लीत बनाएको हुन्छ । सयौं रोपनी क्षेत्रफलमा फैलिएको उक्त स्थानलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न र प्रचारप्रसार गर्न सन्धिखर्क नगरपालिकाले गुरु योजना बनाएर अगाडि बढेको सन्धिखर्क नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो । 

​​​​​​​

 चट्टानले ढाकिएको डाँडोलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने काम भइरहेको छ । नगरपालिकाको पूर्ववर्ती राजनीतिक नेतृत्वले रक गार्डेन बनाउने काम अघि बढाएको थियो । हालको नेतृत्वले त्यसलाई निरन्तरता दिएको वडा अध्यक्ष चेतनारायण आचार्यले बताउनुभयो ।प्राकुतिक रुपले आकर्षक,रमणिय स्थल रक गार्डेनमा सदरमुकाम बाट पक्की सडक पुगेको छ ।
स्थानीय सरकारको योजना अनुसार पर्यटकिय रुपमा बिकास गर्न प्रदेश सरकारले समेत पुर्वाधार विकासमा सहयोग गर्दै आएको छ ।
यस ठाउँको प्रवद्र्धनको लागि तिनै तहका सरकारले चासो दिनुपर्ने स्थानीयवासीको भनाइ छ । 

‘रक गार्डेनका रूपमा विकास हुँदै गएपछि आन्तरिक र वाह्य पर्यटकहरू आउन थालेका छन्,’ स्थानीय बासिन्दा राजु आचार्य भन्छन्, ‘काला ढुंगाले भरिएको डाँडो व्यवस्थित गर्न सकिए पर्यटकको कमी हुँदैन भन्ने प्रष्ट भएको छ ।’ 

रक गार्डेनबाट उत्तरतर्फ विभिन्न हिमशिखरहरू अवलोकन गर्न सकिन्छ भने दक्षिणतर्फ तराईको समथर भूभागसँगै लुम्बिनी प्रदेशका केही जिल्ला देखिन्छन् । प्रकृतिको वरदान भएर आएको ढुंगैढुंगाको डाँडालाई प्राकृतिकरूपमै सजाएर लाभ लिन सकिने स्थानीयहरुको विश्वास छ । 

ढुंगाभित्रै बोटविरुवा, फूल, देवीदेवता जस्ता आकृति अनुभव गर्न सकिन्छ । प्रकृतिले आफैं निर्माण गरेको यस क्षेत्र साँच्चिकै अच्चमको रहेको छ ।
गर्मी मौसममा चिसो हावा चल्ने र जाडोमा घाम लाग्ने भएकोले यहाँको वातावरण पर्यटकका लागि वर्षभरि नै अनकूल मानिएको छ । 

जिल्लाको पर्यटन विकासमा महत्वपुर्ण भुमिका खेल्न सक्ने यो स्थानमा अहिले आन्तरीक तथा वाह्य पर्यटकको घुईचो लाग्न थालेको छ । बिभिन्न विदा तथा धार्मिक पर्व,उत्सबहरुमा रक गार्डेन जानेक्रम बढेको स्थानीयको भनाइ रहेको छ ।
 
 

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  २ : ४४ बजे