यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

देशमा सुशासन कायम हुन सकेन : अध्यक्ष ओली

बैतडी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा सुशासन कायम हुन नसकेको बताउनुभएको छ ।

 बैतडीको पाटनमा एमालेले बुधवार आयोजना गरेको अभिनन्दन समारोहलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले देशमा सुशासन कायम र रोजगारी सिर्जना हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “देशमा सुशासन, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा दिन सकिएको छैन ।”

सङ्कल्प यात्राको बेला देश विकास किन हुन सकेन भनेर स्थानीयसँग छलफल गरिने र देशको विकास एमालेको नेतृत्वमा मात्रै हुन्छ भन्ने सन्देश दिन सङ्कल्प यात्रा गरिन लागिएको उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले बुधवार नै देहीमाडौँमा कार्यकर्ता र शुभेच्छुकसँग भेटघाट र साँझ निङलाशैनी  मन्दिरमा सन्ध्या आरतीमा सहभागी हुनुभयो । एमालेको बिहीबार सुरु हुने ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ को उद्घाटनका लागि उहाँ  बुधवार बैतडी आउनुभएको हो । 

सङ्कल्प यात्राको अध्यक्ष ओलीले आज बिहान झुलाघाटमा नेपाली झण्डा झण्डोत्तोलन गरेर शुभारम्भ गर्नुहुने कार्यक्रम रहेको एमाले बैतडीका जिल्ला कमिटी सचिव चक्र कार्कीले जानकारी दिनुभयो । 

सङ्कल्प यात्राको समुद्घाटनपछि त्रिपुरासुन्दरी मन्दिरको दर्शन, सहिद दशरथचन्द, बलदेव रिचपलेको शालिकमा माल्यार्पणको कार्यक्रम छ । त्यसपछि बिहान ११ बजे गोठलापानीमा विशाल आमसभाको आयोजना गरिएको छ । त्यसपछि साँझ खोडपेमा बझाङका नेता कार्यकर्तासँगको भेटघाट रहेको जनाइएको छ ।

यो यात्रा मध्यपहाडी लोकमार्ग केन्द्रित हो । सङ्कल्प यात्राका क्रममा स्थानीयसँग भेटघाट, सीमा समस्याका विषयमा छलफल र राष्ट्रिय एकताको सबल आधार निर्माण गर्ने उद्देश्यले अभियानको आयोजना गरिएको एमालेले जनाएको  छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ७ : ०३ बजे