यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

बागमती प्रदेशका १० स्थानमा लेखा कार्यालयको एकाइ खोल्ने निर्णय

मनहरी ।  बागमती प्रदेश सरकारले तीन वटा निकायको सङ्गठन संरचना तथा व्यवस्थापन स्वीकृत गरेको छ । 

बागमती प्रदेशको मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गतको दुई, प्रदेशसभा सचिवालय र मुख्य न्यायाधिवक्ताको कार्यालयको सङ्गठन संरचना तथा व्यवस्थापन स्वीकृत गरेको हो ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाका अनुसार मन्त्रिपरिषद् बैठकले सरकार मातहतको संरचना थप गर्दै कर्मचारी दरबन्दी (सङ्गठन संरचना तथा व्यवस्थापन) स्वीकृत गर्ने निर्णय गरेको हो । सरकारले प्रदेशका १३ जिल्लाका विभिन्न १० स्थानमा लेखा एकाइ कार्यालय गठन गर्दै दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको मन्त्री लामाले बताउनुभयो । 

बैठकले आर्थिक मामिला मन्त्रालयअन्तर्गत ४४ दरबन्दीबाट तीन  घटाएर ४१ कायम गरेको छ भने प्रदेश लेखा नियन्त्रण कार्यालयमा २० दरबन्दी कायम गरेको उहाँले बताउनुभयो । सरकारले प्रदेश लेखा एकाइ कार्यालयमा ६५ दरबन्दी थप गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद् बैठकले प्रदेशसभाअन्तर्गत पाँच दरबन्दी थप गर्दै ४१ कायम गरेको छ भने मुख्य न्यायाधिवक्ताको कार्यालयमा दुई दरबन्दी थप गर्दै १३ कायम गर्ने निर्णय गरेको छ । 

प्रदेश सरकारले हालसम्म १४ निकायको कर्मचारी दरबन्दी  स्वीकृत गरेको छ भने सरकारले स्वास्थ्य मन्त्रालय र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको कर्मचारी दरबन्दी तयार गरी स्वीकृत गर्न बाँकी रहेको छ ।

बैठकले नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि स्वीकृत गरेको छ । प्रदेश सरकारले गत आर्थिक वर्षदेखि समाजमा रहेका असमानता र विभेद घटाउन नमुना वडा समाजवादी कार्यक्रम अघि सारेको थियो । गत आवदेखि प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्दै आएको उक्त नमुना वडा समाजवादी कार्यक्रम चालु आवमा कार्यान्वयन गर्ने गरी बजेट विनियोजन गरिएको छ । उक्त कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि स्वीकृत गरेको मन्त्री लामाले बताउनुभयो । कार्यविधिका आधारमा प्रदेशका ११९ वटा स्थानीय तहका वडामा नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन गरिने पनि उहाँले बताउनुभयो ।  

त्यस्तै बैठकले मन्त्रिपरिषद् सामाजिक विकास मन्त्रालयअन्तर्गत मानव बेचबिखन तथा ओसारपसार विरुद्धको बागमती प्रदेशस्तरीय संरक्षण नीति २०८० स्वीकृत गरेको छ । 

बागमती प्रदेश बालबालिकासम्बन्धी नीति २०८० पनि मङ्गलवारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको मन्त्री लामाले बताउनुभयो ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ६ : ३४ बजे