लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु

काठमाडौँ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु हुँदै छ । 

यो दिवस हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउने निर्णय गरेपछि अभियानकै रूपमा विश्वभर यो दिवस मनाउने गरिएको हो ।

नेपालमा भने २०५४ सालदेखि यो दिवस मनाउन थालिएको हो । तर, हरेक वर्ष अभियान सञ्चालन भए पनि महिलामाथि हुने हिंसा भने रोकिएको छैन ।नेपाली समाजमा बोक्सीको आरोप, छाउपडी, दाइजो, छुवाछुत जस्ता कुप्रथाका कारण अहिले पनि महिला र बालबालिका विभिन्न हिंसा भोग्न बाध्य छन् ।

मङ्सिर ९ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने अभियानको यस वर्ष अन्तर्राष्ट्रिय नारा ‘महिला र बालबालिकाविरुद्ध हिंसा रोक्न एकजुट लगानी’ का साथै ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ रहेको छ । यो राष्ट्रिय नाराका साथ यस वर्ष विभिन्न कार्यक्रम गरी दिवस मनाइने भएको छ ।

अभियानका क्रममा महिला तथा बालबालिकासँग सम्बन्धित विभिन्न सङ्घ संस्थाले सचेतनामूलक विभिन्न कार्यक्रमहरूको आयोजना समेत गरेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ७ : ३९ बजे