सुन तस्करी छानबिन गर्ने आयोगलाई थप ४ जनाको जनशक्ति उपलब्ध गराउने सरकारको निर्णय

 

काठमाडौं। ६१ किलो सुन तस्करी प्रकरणको छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगका लागि सरकारले ४ जना प्राविधिक जनशक्ति थप गरेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले विभिन्न श्रेणीका ४ जनाको जनशक्ति थप गर्ने निर्णय गरेको हो। 

समितिको माग अनुसार उक्त जनशक्ती थप गर्ने निर्णय मन्त्रिपरिषदले गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। शर्माका अनुसार जाँचबुझ समितिमा राजपत्रांकित द्वितीय श्रेणीका सरकारी वकिल, राजपत्रांकित द्वितीय श्रेणीका उपसचिव (राजश्व), प्रहरी नायव उपरीक्षक र राजपत्रांकित तृतीय श्रेणीका डाटा विश्लेषक थप गर्ने निर्णय भएको हो।   

प्रमुख प्रतिपक्ष नेकपा एमालेको दबाबपछि सरकारले ६१ किलो सुन तस्करीको सम्बन्धमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो। गत असोजमा गठित जाँचबुझ आयोगले पहिलो बैठक बसी सरकारसँग सुनसँग सम्बन्धित प्राविधक जनशक्ति माग गर्ने निर्णय गरेको थियो। 

२ साउनमा त्रिभुवन विमानस्थल बाहिरबाट समातिएको ६१ किलो सुनको विषयमा एमालेले प्रश्न उठाएपछि सो विषय राजनीतिक मुद्दा बनेको थियो। एमालेले संसद्‌मा विरोध जारी राखेपछि सरकारले गृह मन्त्रालयको प्रस्तावमा जाँचबुझ आयोग गठन गरेको थियो। 

उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा आयोग गठन भएको थियो। उक्त आयोगको सदस्यमा नेपाल प्रहरीका पूर्व एआईजी सहकुल थापा, अर्थ मन्त्रालयका पूर्व सहसचिव किशोरजंग कार्की, गृह मन्त्रालयका पूर्व सहसचिव प्रेमराज जोशी छन्। 

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  २ : २४ बजे