ती माल्या, यी प्रसाईं

काठमाडौं । कुनै समय भारतमा व्यवसायी विजय माल्याको निकै रजगज थियो । किङफिसर एयरलाइन्सका मालिकसमेत रहेका माल्या झन्डै एक दशकदेखि विदेश पलायन भएका छन् । विभिन्न बैंक तथा वित्तीय संस्थासँग शक्तिकेन्द्र र ठूला नेताको प्रभाव देखाएर अर्बौं ऋण लिने, तर साँवा ब्याज नबुझाउने गर्दा भारतका धेरै बैंक तथा वित्तीय संस्था टाट पल्टिएका थिए ।

युबी ग्रुपका पूर्वप्रमुख रहेका माल्याको भारतका विभिन्न बैंकको नौ हजार करोड ऋण तिर्न बाँकी छ । सोही कारण ऋण नै नतिरी माल्या भारतबाट भागेर बेलायत पुगेका छन् । उनलाई भारत फिर्ता लान सरकारले निकै प्रयास गरिरहेको छ । तर बेलायतले मानेको छैन । भारतले बेलायतमा शरण लिइरहेका विजय माल्या र हीरा व्यापारी ललित मोदीलाई स्वदेश ल्याएर कानुनी कारबाही गर्न खोजिरहेको छ । तर उसले सफलता पाइरहेको छैन ।

यतिखेर नेपालमा पनि भारतकै विजय माल्याको पदचाप पछ्याइरहेका छन् विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईले । विगतमा माओवादीको इलाका पार्टी सदस्य रहेका प्रसाई अहिले अर्बपति बनेका छन् । माओवादीमा हुँदा प्रसाई चन्दा र लेबी उठाउँथे । त्यही क्रममा उनी ६ महिना जेल पनि परे । जेलबाट बाहिर आएपछि उनले भैंसी फार्म खोले । भैंसी फार्म खोल्न उनले विभिन्न बैंकसँग ऋण लिए । तर ऋण तिरेनन् । समयक्रममा उनी मेडिकल व्यवसायी बने ।

झापाको बिर्तामोडमा बी एन्ड सी मेडिकल कलेज खोले । विभिन्न बैंकसँग उनले झन्डै ६ अर्ब ऋण लिएका छन् । प्रसाईको मेडिकल कलेजले मेडिकल काउन्सिलबाट सम्बन्धन पाउनै लागेको थियो, तर प्रा.डा. गोविन्द केसीको सत्याग्रहले रोकियो । त्यसयता उनी केसीसँग रुष्ट बन्दै आएका छन् ।

बैंककै ऋण अर्बौंै छ । त्यसको ब्याजसमेत अहिलेसम्म प्रसाईले तिर्न सकेका छैनन् । कमसल धितो राखेर उनले शक्तिकेन्द्रको प्रभावमा बैंकसँग अर्बौं ऋण लिएका थिए । तर धितो राखेको सबै लिलाम गर्दा पनि बैंक तथा वित्तीय संस्थाको ऋण उठ्दैन । महिनैपिच्छे करोडौं किस्ता र ब्याज तिर्नुभन्दा अहिले त्यसलाई जसरी हुन्छ पचाउने नाममा प्रसाईले आन्दोलन सुरु गरेका छन् । प्रसाईंंले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान सञ्चालन गरेका छन् ।

जसअन्तर्गत सञ्चालित विभिन्न कार्यक्रममा उनले बैंक ऋणको ब्याजसँगै परिमाण तोकेर ऋणै पनि मिनाह हुनुपर्ने उत्तेजक अभिव्यक्ति दिँदै आएका छन् । यसैकारण उनको अभियानमा सरिक साना तथा मझौला व्यवसायीहरु वित्तीय संस्थाको कर्जाबाट बन्देज हुनुपर्ने स्थिति सिर्जना हुँदै गएको छ ।

बैंक तथा वित्तीय संस्थामाथि निरन्तर आक्रमणमा उत्रिएका प्रसाईंंको अराजक गतिविधिका कारण साना तथा मझौला उद्योगी÷व्यवसायीले बैंक कर्जा नपाउने स्थिति बनेको हो । वित्तीय संस्थाबाट लिएको कर्जा तिर्नु पर्दैन भन्दै प्रसाईंंले ऋणीलाई भड्काउँदै हिँडेपछि त्यसको असर नयाँ साना तथा मझौला व्यवसायीमाथि परेको हो । उनको लहलहैमा केही साना व्यापारी र स्वार्थी समूह पनि जोडिएको छ । उनीहरूले प्रसाईले विभिन्न बैंकसँग लिएको ६ अर्बभन्दा बढी ऋण नतिर्दा कस्तो अवस्था उत्पन्न हुन्छ भन्नेतिर सोचेको देखिएको छैन ।

बैंक तथा वित्तीय संस्थाले कर्जा मिनाह नै गर्नुपर्ने माग राखेर आन्दोलन सुरु हुन थालेपछि बैंक तथा वित्तीय संस्थाहरु नयाँ कर्जा प्रवाहमा पहिलेभन्दा बढी सजग हुन थालेका छन् । साना तथा मझौला व्यवसायी भने बैंकले कर्जा नै दिन छोडेको गुनासो गर्छन् । बैंक तथा वित्तीय संस्थाहरुले लघु घरेलु साना तथा मझौला उद्योगीलाई कर्जा दिन आनाकानी गर्छन् ।
यस्तो परिवेशमा प्रसाईंं जस्ता अभियन्ताको आन्दोलनको साइड इफेक्टमा बैंकहरुले ऋण नै ठप्प पारेको घरेलु तथा साना उद्योगी महासंघले जनाएको छ । ऋण नतिर्न विभिन्न लफडा निकाल्ने र नसके विदेश भाग्ने दाउमा प्रसाई लागेका छन् । त्यसैले उनी कुनै समय पनि पलाउन हुनसक्ने सम्भावना बढ्दै गएको छ । मंसिर ७ पछि उनका रणनीतिक स्टेपले यसको पुष्टि गर्ने देखिन्छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ६ : ४० बजे