एमाले डोटीले थाल्यो मध्य पहाडी लोकमार्ग अभियानको तयारी

काठमाडौँ । नेकपा एमाले डोटीले मध्य पहाडी लोकमार्ग अभियानको तयारी थालेको छ । 

मङ्सिर १४ गतेदेखि सञ्चालन हुने झुलाघाट–चिवा भन्ज्याङ ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ को एमाले डोटीले तयारी थालेको हो ।   

मङ्सिर २ गते बसेको जिल्ला कमिटी बैठकले एक मूल र ११ वटा उपसमिति गठन गरेको जिल्ला अध्यक्ष चक्रबहादुर मल्लले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, मध्य पहाड यात्राको तयारीका लागि समिति, उपसमितिहरू गठन गरेका छौँ । सबैलाई जिम्मेवारी दिएर आ–आफ्नो जिम्मेवारीमा उपसमितिहरू लागि रहेका छन् । अध्यक्ष मल्लका अनुसार पार्टीका जिल्ला इन्चार्ज लीला भण्डारीको नेतृत्वमा मूल व्यवस्थापन समिति गठन भएको छ ।

यस्तै अभियान व्यवस्थापनका लागि ११ वटा उपसमिति गठन गरिएको एमाले डोटीले जनाएको छ । जसअन्तर्गत जिल्ला कमिटी उपाध्यक्ष मञ्जु मलासीको संयोजकत्वमा आर्थिक व्यवस्थापन, सुदूरपश्चिम प्रदेश कमिटी सदस्य सिद्धराज जोशीको संयोजकत्वमा आवास व्यवस्थापन,  जिल्ला अध्यक्ष मल्लको नेतृत्वमा जनपरिचालन, जिल्ला कमिटी सदस्य झलक पालीको संयोजकत्वमा प्रचारप्रसार र जिल्ला कमिटी उपसचिव कृष्णबहादुर खड्काको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

पार्टी जिल्ला कमिटी सदस्य डम्बर सिंह डौडीको संयोजकत्वमा स्वयंसेवक परिचालन, प्रदेश समिति सदस्य भरत बोहराको संयोजकत्वमा मञ्च व्यवस्थापन, जिल्ला कमिटी सचिव शेरबहादुर मल्लको नेतृत्वमा खाद्य व्यवस्थापन, उपसचिव तेजबहादुर डुम्रेलको नेतृत्वमा अतिथि सत्कार, प्रदेश कमिटी सदस्य पदमराज भट्टको संयोजकत्वमा स्वागत द्वार व्यवस्थापन र प्रदेश कमिटी सदस्य मदन भण्डारीको संयोजकत्वमा सांस्कृतिक उपसमिति गठन गरिएको उहाँले जानकारी दिनुभयो ।  

बैतडीको झुलाघाटबाट सुरु हुने अभियानअन्तर्गत मंंसिर १५ गते डोटीमा आमसभा हुने अध्यक्ष मल्लले बताउनुभयो । उक्त आमसभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । 

यसैबीच एमाले डोटी जिल्ला अधिवेशन ३ महिना पर सारिएका छ । अध्यक्ष मल्लले जिल्ला अधिवेशन चैतमा हुने बताउनुभयो । 

यसअघि मङ्सिर २१ र २२ गते तय भएको अधिवेशन अब चैत २ र ३ गते गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।   

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  १० : २९ बजे