चिसोका कारण भूकम्प पीडितको मृत्यु

जाजरकोट । अत्यधिक चिसोका कारण नलगाड नगरपालिका–८ टापुकी ७० बर्षीया विष्णुकमारी खत्रीको मृत्यु भएको छ । 

भूकम्पमा परी घाइते भई स्थानीय मेडिकलमा उपचार गराइरहनुभएकी खत्रीको आइतबार मृत्यु भएको हो । 

उहाँ हाल त्रिपासको साहरामा बस्दै आउनुभएको थियो । आइतबार बिहान खत्रीलाई उपचारका लागि लैजाने तयारी गर्दै गर्दा मृत्यु भएको वडा अध्यक्ष तेजबहादुर सिंहले जानकारी दिनुभयो । 

यसअघि, चिसोका कारण शनिवार तीन जनाको ज्यान गएको थियो । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको थियो। 

त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । 

यसअघि गत साता नलगाड भेरी र बारेकोटमा गरी चिसोका कारण चार जना दीर्घरोगीको ज्यान गएको थियो । चिसोका कारण पछिल्लो एक सातामा सात जना वृद्धवृद्धाको ज्यान गइसकेको छ ।

गत कात्तिक १७ गते राति जाजरकोटमा केन्द्रबिन्दु भई गएको भूकम्पमा परी ठुलो धनजनको क्षति भएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ६ : ५१ बजे