गणतन्त्र विरोधी तत्त्वहरूको एमालेले खुलेर मुकाबिला गर्छ : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सेनापतिलाई आक्रमण गर्दा हात बाँधेर बस्ने व्यक्ति सैनिक हुन नसक्ने बताउनुभएको छ ।

नेकपा एमाले भक्तपुरले मङ्सिर ७ गतेको विरोध प्रदर्शनका सम्बन्धमा आज बिहान सूर्यविनायकमा आयोजना गरेको बृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै पोलिटब्युरो सदस्य बस्नेतले अध्यक्ष ओली माथि साइबर आक्रमण भइरहँदा एउटा पनि स्ट्याटस नलेख्ने र त्यसका विरुद्ध नबोल्ने व्यक्ति एमाले हुन नसक्ने बताउनुभयो । 

उहाँले एउटा लफङ्गाले तर्साउँदा एमाले पङ्क्ति स्याल जस्तो भएर सुत्नु लज्जास्पद भएको भन्दै भक्तपुरका सबै पार्टी पङ्क्तिलाई यस्ता कुराको डटेर प्रतिरोध गर्न निर्देशन दिनुभयो।

कोही व्यक्तिसँग एमालेले कार्यक्रम जुधाएको भनेर कतिपयले भनिरहँदा युवा सङ्घ नेपालका इन्चार्ज समेत रहनुभएका पोलिटब्युरो सदस्य बस्नेतले दुई महिना अघि नै युवा सङ्घले व्यवस्था विरोधी शक्तिहरूका विरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको बताउनुभयो ।

‘एमालेको विरुद्धमा रहेका अपराधी,माफिया र लफङ्गाहरूलाई ठेगान लगाउनु छ’ उहाँले भन्नुभयो  ‘गणतन्त्रमाथि धावा बोल्दा,पञ्चायतकालिन राष्ट्रिय गान गाउँदा सत्तामा हुनेहरूलाई दुख्दैन । उनीहरू रमिते हेरेर बसेका छन् । तर एमाले गणतन्त्र विरोधी यस्ता तत्त्वहरूको खुलेर मुकाबिला गर्दछ ।’

 

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  १२ : ४९ बजे