भक्तपुरको गठ्ठाघरमा चितुवाको आक्रमणबाट दुई जना घाईते

​​​​​​​भक्तपुर । भक्तपुर जिल्लाको मध्यपुर थिमि–३ स्थित गठ्ठाघरमा चितुवाको आक्रमणबाटदुई जना घाईते भएका छन् । एक्कासी बस्तीमा आइपुगेको चितुवाको आक्रमणबाट घाईते हुनेहरुमा गठ्ठाघर बस्ने ३३ वर्षिया संगिता आलेमगर र काभ्रेपलाञ्चोक भुम्लुकी ६५ वर्षिया अमृता कँडेल रहेका छ्न ।  

घाईते दुवै जनाको मध्यपुर अस्पतालमा उपचार भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताउनु भयो । प्रविन आयल स्टोरको उत्तरतर्फ दुई वटा घरको चेपमा आज बिहान जंगली चितुवा फेला परेको थियो ।  

स्थानीय पवित्रा सुनारको घरको कम्पाउण्डभित्र उक्त चितुवा फेला परेको हो । स्थानीयले खबर गरेपछि चितुवा नियन्त्रणमा लिन बिहानै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालय सानोथिमि भक्तपुरको टोली घटनास्थलमा पुगेको थियो ।

पछि चितुवालाई डिभिजन वन कार्यालय काठमाडौंको प्राविधिकसहितको टोलीले चार पटक डार्ट हानेर नियन्त्रणमा लिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत एवम् सूचना अधिकारी सलिना कडालले बताउनुभयो । चितुवा गर्भिणी जस्तो देखिएको र उद्धार गरी चिडियाखाना लगिएको छ । चितुवा नियन्त्रणका लागि काठमाडौंका वन अधिकृत अशोक पराजुली नेतृत्वको टोली खटिएको थियो । 

चिडियाखाना लगेर सुरुमा स्वास्थ्य जाँच गर्ने र स्वास्थ्य सामान्य रहेछ भने जंगलमा लगेर छाडिने वन अधिकृत पराजुलीले बताउनुभयो । चितुवा नियन्त्रणमा लिएको हेर्न स्थानीयको ठूलो भिड लागेको थियो । प्रहरीहरू पनि उल्लेख्य संख्यामा परिचालित भएका थिए । 

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ४ : १९ बजे