दूतावास बन्द भएसँगै उत्तर कोरियाली कूटनीतिज्ञले नेपाल छाडे

काठमाडौं । दूतावास बन्द गर्ने निर्णयसँगै यहाँ रहेका उत्तर कोरियाका कूटनीतिज्ञ र कर्मचारीहरूले नेपाल छाडेका छन्। 

नेपालका लागि उत्तर कोरियाका राजदूत   जो योङ मेन   सहित ७ जनाको टोलीले नेपाल छाडेको हो। केही दिन अगाडि दूतावासका अन्य दुई जनाले पनि नेपाल छाडेका थिए। शुक्रबार नेपाल छाड्नेहरूमा राजदूत जो योङ मेनसहित उप-नियोग प्रमुख, डीफेन्स अट्याची, काउन्सलरलगायत रहेको परराष्ट्र स्रोतले जानकारी दिएको छ।

शुक्रबार बिहान हिमालय एयरलाइन्सको जहाजबाट राजदूतसहितको टोली चीनको राजधानी बेइजिङ प्रस्थान गरेको हो। उनीहरू बेइजिङ हुँदै उत्तर कोरियाको राजधानी प्योङयाङ प्रस्थान गरेका हुन्। नेपालबाट उत्तर कोरियाको दूतावास उठेसँगै अब भारतको नयाँ दिल्लीमा रहेको उसको दूतावासले नेपाल मामिलामा हेर्नेछ।

नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले गत सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी प्योङयाङले नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको सुनाएका थिए। प्रधानमन्त्रीलाई जानकारी गराएसँगै नेपालस्थित उत्तर कोरियाली दूतावासले नेपाल छाड्ने तयारी सुरु गरेको थियो। ललितपुरको झम्सिखेलमा दूतावासको कार्यालय रहेको थियो। उत्तर कोरियाली दूतावास बन्द गर्ने निर्णयप्रति प्रधानमन्त्री दाहालले राजदूतसँग दुःख व्यक्त गरेका थिए। 

विश्व राजनीति परिवेश, भूराजनीतिक प्रभाव र विश्वव्यापीरूपमा बढदै गएको आर्थिक मन्दीका कारण उत्तर कोरियाले नेपालको दूतावास बन्द गर्ने निर्णय गरेको हो।

नेपाल र उत्तर कोरियाबीच सन् १९७४ मे १५ मा औपचारिकरूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यही वर्ष उत्तर कोरियाले नेपालमा आफ्नो दूतावास खोलेको थियो।  नेपालमा उत्तर कोरियाले आफ्नो दूतावास स्थापना गरेपनि नेपालले भने उत्तर कोरियामा आफ्नो दूतावास स्थापना गरेको छैन। चीनको बेइजिङमा रहेको नेपाली दूतावासले उत्तर कोरिया मामिलासमेत हेर्दै आएको छ। 

संयुक्त राष्ट्रसंघको नाकाबन्दीका कारण सन् २०१९ को डिसेम्बरमा नेपालमा उत्तर कोरियाले गर्दै आएको व्यवसायहरू बन्द भएका थिए। उत्तर कोरियाले काठमाडौं र लतिलपुरमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएको थियो। त्यस्तै तनहुँमा अस्पताल सञ्चालन गरेको थियो भने कञ्चनपुरको एक अस्पतालमा उत्तर कोरियाली चिकित्सकहरूले काम गर्दै आएका थिए। 

उत्तर कोरियाली दूतावासको संरक्षणमा सञ्चालन हुँदै आएका ती व्यवसायहरू राष्ट्रसंघको नाकाबन्दीका कारण बन्द भएपछि उसले आर्थिक संकट झेल्दै आएको उनीहरूका एक नेपाली व्यापारिक साझेदारले  बताए। आर्थिक संकट, भूराजनीतिक असर र सैन्य रणनीतिमा लगानी बढाउनुपर्ने भएकाले उत्तर कोरियाले नेपालको दूतावास बन्द गर्ने निर्णय लिएको हुनसक्ने ती व्यापारिक साझेदारको भनाइ छ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ३ : ३८ बजे