मधेशका मुख्यमन्त्रीको चेतावनी : ३० दिनपछि आरपारको आन्दोलन गर्ने

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश प्रहरी समायोजनलगायतका माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।

बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी मुख्यमन्त्री यादवले प्रदेश प्रहरी समायोजन, निजामती कर्मचारी समायोजन, गुठी र वनसम्बन्धी विधेयक र कानून बनेको लामो समय बित्दा पनि कार्यान्वयन नआएको भन्दै तत्काल कार्यान्वयन गरी हस्तान्तरण गर्न प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै ३० दिने समयसीमा दिने  बताए।

बिहीबार काठमाडौँस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशका मन्त्री, प्रदेशसभामा रहेका संसदीय दलका नेताहरूको उपस्थितिमा प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउने मुख्यमन्त्री यादवले बताए।​

मधेश प्रदेशको शान्ति सुरक्षा तथा सुशासनको अवस्था, प्रदेशको विकास निर्माणको अवस्था, जग्गाजमिन तथा जंगलको अवस्था दयनीय रहेकाले ज्ञापनपत्र बुझाएको ३० दिनभित्र संघीय सरकारले माग पूरा गर्नुपर्ने मुख्यमन्त्री यादवको दावी छ।

मुख्यमन्त्री यादवले संघीयता जोगाउन मधेश सरकारले उठाएका माग समयमै सम्बोधन प्रदेशदेखि केन्द्रसम्म आन्दोलन गर्ने बताए।

प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउने क्रममा मधेश प्रदेशका नेकपा प्रमुख प्रतिपक्षी दलका संसदीय दलका नेता सरोजकुमार यादव, नेकपा माओवादी केन्द्रका भरतप्रसाद साह, भौतिक पूर्वाधार तथा विकासमन्त्री कृष्णप्रसाद यादव, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका संसदीय दलका नेता अभिराम शर्मा, जनमत पार्टीका संसदीय दलका नेतासमेत रहेका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादव लगायतका नेताहरू सहभागी हुनेछन्।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ५ : १९ बजे