प्रसाईलाई प्रहरीले भन्यो- कम्बोडियामा ओलीको ३ अर्ब लगानी पुष्टि गर वा कानूनी कारवाही भोग्न तयार होऊ

काठमाडौं । नेपाल प्रहरीले बि एण्ड सी मेडिकल अस्पताल सन्चालक दुर्गा प्रसाईसँग पूर्व प्रधानमन्त्री तथा विपक्षी दलका नेता केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३ हजार करोड लगानी गरेको पुष्टि हुने प्रमाण मागेको छ ।

पूर्व प्रधानमन्त्री ओलीको सन्दर्भमा उनले सार्वजनिक रुपमा लगाएका आरोप पुष्टि गर्न वा कानूनी कारवाही भोग्न दुईमध्ये एक विकल्पका लागि तयार रहन प्रहरीले प्रसाईलाई पूर्व जानकारी समेत गराएको हाे ।

प्रहरीले पटकपटक उनलाई ओलीमाथि सार्वजनिकरुपमा लगाएका आरोप पुष्टि हुने केही आधार भए उपलब्ध गराउन आग्रह गर्दा उनले विभिन्न वहाना गरेर उम्किरहेको उच्च अधिकारीले बताए । पछिल्लोपटक आईजीपी वसन्त कुँवर आफैंले फोन गरेर उनलाई आरोप प्रमाणित गर्न वा कानून बमोजिम कारवाहीको भागिदार बन्न प्रहरीसमक्ष उपस्थित हुन भनेका थिए ।

प्रसाईले आइतवार केन्द्रीय साइबर ब्यूरोमा गएर प्रारम्भिक वयान दिएका छन् । उनलाई प्रहरीले अरु नेता र विभिन्न व्यवसायीको चरित्रहत्या गर्ने ढंगले सार्वजनिक रुपमा घृणास्पद अभिव्यक्ति दिएको विषयमा पनि अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ५ : २२ बजे