कर्णालीमा आज शोक विदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले आज शोक विदा दिएको छ । शनिबार बसेको कर्णाली सरकारको मन्त्रीपरिषद् बैठकले भूकम्पमा परी ज्यान गुमाउने कर्णालीवासीको शोकमा आइतबार विदा दिएको हो । बैठकले भूकम्प पीडितलाई राहत वितरण तथा पुर्नस्थापना कार्यलाई एकद्वार प्रणाली मार्फत अघि बढाउने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले बताउनु भयो ।

उहाँले प्रदेश विपद् व्यवस्थापन कोषमा तत्काल दश करोड रुपैयाँ जम्मा गर्ने निर्णय समेत भएको जानकारी दिनु भयो । उहाँका अनुसार प्राकृतिक विपद् दुर्घटना वीमाबाट भूकम्पमा परी मृत्यु भएका आफन्तलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय भएको छ । प्रदेश सरकारले भूकम्पबाट अति प्रभावित पालिकालाई तत्काल खर्च गर्ने गरी बढीमा २५ लाख उपलब्ध गराएको छ ।

उद्दार तथा राहत कार्यका लागि प्रदेश सरकारले अति प्रभावित, प्रभावित र साान्य प्रभावित पालिकालाई ५ देखि २५ लाख रुपैंयाँ प्रति पालिकाको खातामा पठाउने निर्णय समेत गरेको छ । प्रदेशमा यस्ता पालिका नौ वटा रहेका छन् । बैठकले जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लामा भएको क्षतिको स्थलगत अध्ययन तथा मूल्यांकन गरेर राहतसँगै पुर्ननिर्माण कार्य शुरु गरिने निर्णय गरेको छ ।

प्रदेश सरकारले आज पनि भूकम्प प्रभावित गाउँहरुमा सुर्खेतबाट राहत सामाग्रीहरु पठाउने कार्य जारी राखेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री जिसीले जानकारी दिनु भयो । यातायात सम्भावना कम भएका दुर्गम स्थानका लागि हेलिकप्टर तथा यातायातका साधनको पहुँच भएका स्थानमा स्थलमार्गबाट खाद्यान्न तथा लत्ताकपडा लगायतका सामाग्रीहरु भूकम्प प्रभावित क्षेत्रमा पठाईएको उहाँको भनाइ छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  १ : १५ बजे