भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

एमाले कोशी प्रदेश अधिवेशन: ३५ स्थानबाट मतदान हुँदै

विराटनगर। नेकपा एमाले कोशी प्रदेश कमिटीको अधिवेशनमा निर्वाचन हुने भएको छ। प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ३५ स्थानबाट मत हाल्ने व्यवस्था मिलाइएको छ। 

मुख्य निर्वाचन अधिकृत चुडामणि आचार्यका अनुसार १ जनाले १५ मिनेटको समय मिलाइएको छ । पाँच जना पदाधिकारीसहित २१५ सदस्यीय समिति निर्माणका लागि ४५० जनाको उम्मेदवारी परेको छ।

प्रदेश अध्यक्षका लागि मोरङ लेटाङका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकाल चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। साँझ ५ः३० बजेपछि मतदान सुरु हुने निर्वाचन आयोगले बताएको छ। यसअघि मतदानको समय पटकपटक सारिएको छ । बिहान ११ बजेदेखि सुरु हुने भनिएको मतदान १ बजे सारिएको थियो । पुनः ५ बजेका लागि तय गरिएको मतदानको समयतालिका आधा घण्टा पछि धकेलिएको छ। 

उपाध्यक्षमा भने यसअघि नै टिकाराम चेम्जोङ निर्विरोध भइसक्नुभएको छ। यसैगरी सचिवमा भने पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिष्पर्धा हुन लागेको छ। यस्तै दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली, खोटाङका देवान राईबीच प्रतिस्पर्धा हुने भएको छ। 

सचिवका प्रत्यासी भण्डारी खतिवडा समूह र लामा ढकाल समूहमा देखिएका छन् । त्यसैगरी उपसचिवतर्फकी राजवंशी र राई खतिवडा समूह र नेपाली भने ढकाल समूहका हुन्।

भूगोलतर्फ इलाम, पाँचथर, खोटाङ, ताप्लेजुङ र सोलुखुम्बुमा भने सबै पदमा सर्वसम्मत भएका छन्। झापा, मोरङ, सुनसरी, संखुवासभा, ओखलढुंगा, भोजपुर, उदयपुर, खोटाङ जिल्लाका लागि भने चुनाव हुन लागेको हो । 

चुनाव हुने जिल्लाहरूमा कुल ११६ पदका लागि २५४ जना भिड्दैछन् । त्यसैगरी समावेशीतर्फ एक अपांग कोटामा २, दुई मुस्लिम कोटामा ६, दुई आदिवासी खुल्लामा ४ र दुई जनजाती खुल्ला सदस्यमा ९ जना प्रतिस्पर्धामा छन्। समावेशीतर्फ अल्पसंख्यक र आदिवासी महिलातर्फ भने सर्वसम्मत भएका छन्।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ५ : ४९ बजे