भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

नयाँ नेतृत्व सहमतिबाटै छनोट गर्नुपर्छ : अष्टलक्ष्मी शाक्य

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व सकेसम्म सहमतिबाटै चयन गर्नुपर्ने बताउनु भएको छ। 

आज प्रदेश कमिटीको अधिवेशन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले पहिलो प्राथमिकता सहमतिबाटै योग्य र सक्षम नेतृत्व छनोट गर्नुपर्ने बताउनु भएको हो।

‘यो अधिवेशनबाट नयाँ नेतृत्व निर्माणको कुरा गर्दा पहिलो सहमति नै हो’, उपाध्यक्ष शाक्यले भन्नुभयो, ‘सहमति भएन भने लोकतान्त्रिक विधिबाट स्वस्थ प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्नुपर्छ ।’ उहाँले एमालेभित्र विचार र पद्धतिको नेतृत्व आवश्यक रहेको पनि बताउनु भयो।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संघीय लोकतन्त्रलाई सुदृढ गर्दै समृद्ध नेपाल निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले देशको संविधानले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गरेको भए पनि समृद्धिको काम गर्न बाँकी रहेको बताउनुभयो । समृद्धिको नेतृत्व नेकपा एमालेले गर्ने उहाँले प्रष्ट पार्नुभयो । 

वाग्मती प्रदेश कम्युनिष्ट पार्टीको उर्वर भूमि भएकोले कम्युनिष्ट आन्दोलनलाई सुदृढ गरेर अघि बढाउनु पर्ने शाक्यले बताउनुभयो। संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने नेतृत्व वाग्मतीलाई आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो । 

अहिले देशमा अराजकता फैलिएको र अनुशासन कमजोर भएको शाक्यले बताउनुभयो । समाजलाई रूपान्तरण गर्नु आजको आवश्यकता रहेको उहाँको भनाइ छ । ‘पुष्पलालको विचारलाई आत्मसाथ गरेर कम्युनिष्ट पार्टीलाई अझ सुदृढ बनाएर अघि बढ्नु पर्छ, त्यो भनेको एमालेलाई अझ सुदृढ गर्ने हो’, उहाँले भन्नुभयो। 

नयाँ नेपाल निर्माण एमालेबाट मात्र सम्भव रहेको शाक्यले बताउनुभयो । त्यसको लागि नेकपा एमाले एक भएर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । 

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ४ : १७ बजे